Compulsory Nepali (Class 11), New Model Question Solution, 2080 (2023) | NEB Class 11 Nepali Final Exam Question Paper Solution, 2080

Compulsory Nepali (Class 11), New Model Question Solution, 2080 (2023) | NEB Class 11 Nepali Final Exam Question Paper Solution, 2080

Compulsory Nepali (Class 11), New Model Question Solution, 2080 (2023) | NEB Class 11 Nepali Final Exam Question Paper Solution, 2080


अनिवार्य नेपाली

कक्षा ११

नमुना प्रश्नपत्र (उत्तरसहित)

 ८० (२०२३)

 

१. दिइएको अनुच्छेदका रेखाङ्कित वर्णहरूको उच्चारण स्थान र प्राणत्व  छुट्याईलेख्नुहोस ।  (३)

कृषि क्षेत्रमा जथाभावी रूपमा रासायनिक मल तथा विषादीको प्रयोग गर्नाले हामीले खाद्यपदार्थसँगै बिख खाइरहेका छौँ । त्यति मात्रै होइन, पानीका स्रोत र सास फेर्ने हावासमेत विषाक्त बनाएका छौं ।

उत्तर:-

वर्ण

उच्चारण स्थान

प्राणत्व

कण्ठ्य

महाप्राण

दन्त्य

अल्पप्राण

स्वरयन्त्रमुखी

महाप्राण


२. शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : (३)

हामीले रारा राष्ट्रिय निकुन्जको कार्यालयको दछिण फर्केको गेट नजिकै बसेर पनि रारालाई हेय, राराकै किनारमा बस्दा राराका छालहरू छचल्किँदै हामीसँग जिस्किन आइपुगे र हामीलाई त्यो चिसो पानिले हुँदा रारा नानीको न्यानो मायाले जिउ नै सिरिङ्ग पारेको अनुभूत भयो ।

उत्तर:- हामीले रारा राष्ट्रिय निकुञ्जको कार्यालयको दक्षिण फर्केको गेटनजिकै बसेर पनि रारालाई हेयौँ । राराकै किनारमा बस्दा राराका छालहरू छचल्किँदै हामीसँग जिस्किन आइपुगे र हामीलाई त्यो चिसो पानीले हुँदा रारा नानीको न्यानो मायाले जिउ नै सिरिङ्ग पारेको अनुभूत भयो ।

 

३. अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गरी लेख्नुहोस् । (२)

बाटाभरि हाम्रै सामल खायो, अनि यहाँ आइपुगेर हामी दुबैलाई छोडेर ऊ कहाँ भाग्यो

बाटाभरि       -    क्रियायोगी

सामल         -    नाम

आइपुगेर      -    क्रियायोगी

हामी          -    सर्वनाम

अनि          -    संयोजक

कहाँ          -    क्रियायोगी

भाग्यो        -   क्रियापद


४. दिइएका प्रश्नको उत्तर दिनुहोस् ।                      (२+२=४)

(क) दिइएको अनुच्छेदबाट दुई दुईओटा तत्सम र आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् ।

एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि ढोकामा अन्यमनस्क भई उभिएकी थिई । यस्तै शान्त क्लान्त सन्ध्याको धमिलोपनामा, अनुरागको प्रतीक आएको थियोत्यो यात्री ।

उत्तरः-

तत्सम शब्द    :    शान्त, सन्ध्या

तद्भव शब्द     :    साँझ, ढोका

 

(ख) दिइएका शब्दहरूलाई शब्दकोशीय क्रममा मिलाई लेख्नुहोस् ।

कुद्नु, कुँद्नु, ग्लानि, ग्रह

उत्तरः- कुँद्नु, कुद्नु, ग्रह, ग्लानि

 

५. दिइएको अनुच्छेदबाट तीनओटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् । (३)

भाषा यादृच्छिक वाक्प्रतीकहरुको त्यस्तो व्यवस्था हो, जसका सहायताले समाजका व्यक्तिहरु आफ्नो विचारको विनिमय गर्दछन् । भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन तर सबै भाषाको आआफ्नो मानक रूप भने हुन्छ ।

उत्तर:-

यादृच्छिक    =   भाषा यादृच्छिक हुन्छ ।

वाक्प्रतीक   =   भाषा वाक्प्रतीकहरुको व्यवस्था हो

मानक         =   भाषाको मानक रूप पनि परिवर्तनशील हुन्छ।

 

अथवा,

दिइएको अनुच्छेदबाट एउटा अनुकरणात्मक शब्द एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैं विद्यालयमा पढ्न आएको विद्यार्थी शिक्षकको आँखा छलेर धुइँधुइँती जुलुसतिर धाउँछ बा ! यो के तरिका हो ?

उत्तर:-

अनुकरणात्मक शब्द

धुइँधुइँती  =   ए भाइ ! एकाबिहानै धुइँधुइँती कता हिँडेको ?

 

उखान

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर = मन्त्रालयमा बसेर शिक्षा सम्बन्धी नीति र योजना तर्जुमा गर्नु पर्ने मन्त्री जहाँ जहाँ सभा त्यहीँ त्यहीँ भाषण ठोक्न जान्छन्, यो त कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भएन र ?

 

टुक्का

आँखा छल्नु = शिक्षकको आँखा छल्ने विद्यार्थी कहिल्यै काम लाग्दैन ।


 ६) कुनै दुई प्रश्नको उत्तर दिनुहोस ।    (३)

(क) अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय न्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् ।

उपसर्ग

आधारपद

निर्मित शब्द

वि

कृति

विकृति

प्र

शासन

प्रशासन



आधारपद

प्रत्यय

निर्मित शब्द

समाज

इक

सामाजिक

प्रशासन

इक

प्रशासनिक





(ख) अनुच्छेदबाट दुईओटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी दोहोरिएको अंश छुट्याउनुहोस् :

कक्षामा पढ्नमा भन्दा आल्तुफाल्तु कुरा गरेर समय बिताउने बुद्धिहीन विद्यार्थीका लागि परीक्षाको तीनघन्टे समयावधि कष्टपूर्ण हुन्छ भने राम्ररी पढ्ने विद्यार्थीका लागि सुखद क्षण बन्छ । कतिपय विद्यार्थी परीक्षामा पेन्सिल, रुलर जस्ता सरसामान दायाँबायाँका साथीसँग मागजुग गरेर चलाउने पनि हुन्छन् । यस्तै हो कोही ज्ञान र सूचनाका भिखमङ्गा हुन्छन् त कोही उपकरणका | तिमीले यो प्रश्नपत्र हेरेपछि आफ्नो आनीबानीमा सुधार गर ल ! परीक्षा हलमा अर्काको ज्ञानको भिखारी नबन बरु पेन्सिल र इरेजरसम्म मागे हुन्छ । यसरी गोबर गणेश भएर परीक्षामा बस्दा लाज हुँदैन ?

समस्त शब्द

निर्माण प्रक्रिया

बुद्धिहीन

गोबर गणेश

बुद्धिले हीन

गोबरको गणेश जस्तो छ जो






द्वित्व शब्द

निर्माण प्रक्रिया

दोहोरिएको अंश

आल्तुफाल्तु

मागजुग

फाल्तु + फाल्तु

माग + माग

फाल्तु

माग


(ग) अनुच्छेदबाट चारओटा सन्धियुक्त शब्द पहिचान गरी सन्धि विच्छेद गर्नुहोस् :

यशोधराले सन्देशलाई पत्राचार गरी आफ्नो रोक्का भएको जमिन ठुल्यामालाई भनेर फुकुवा गर्न लगाइन् । तर जगन्नाथ ठुलाबाले नमानेपछि दाजु रमेश पद्मोदय कलेजबाट फर्की उनको अत्यावश्यक काम सम्पन्न गरे ।

सन्धियुक्त शब्द

यशोधरा, सन्देश, जगन्नाथ, अत्यावश्यक


सन्धियुक्त शब्द

सन्धि विच्छेद

यशोधरा

सन्देश

जगन्नाथ

अत्यावश्यक

यशः + धरा

सम् + देश

जगत् + नाथ

अति + आवश्यक



७. दिइएका प्रश्नको उत्तर दिनुहोस् ।                  (२+२= ४)

(क) दिइएको अनुच्छेदका वाक्यहरूलाई आवश्यक सुधारसहित स्त्रीलिङ्गमा परिवर्तन गर्नुहोस् :

ऊ जनकपुरमा जन्मिएको हो । उसले त्यहाँ आठ कक्षासम्म पढेको थियो । ऊ अहिले काठमाण्डौं बजारमा बसी एघार कक्षा पढ्दै छ । उसले व्यवस्थापन विषय पढेको छ ।

उत्तर:- ऊ जनकपुरमा जन्मिएकी हो । उसले त्यहाँ आठ कक्षासम्म पढेकी थिई । ऊ अहिले काठमाण्डौं बजारमा बसी एघार कक्षा पढ्दै छे । उसले व्यवस्थापन विषय पढेकी छे ।

 

(ख) दिइएको अनुच्छेदलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

विद्यार्थीहरू दार्जिलिङ घुम्न गएका थिए । त्यहाँ विदेशी पर्यटक पनि आएको रहेछ । उसले दार्जिलिङभन्दा त नेपालै राम्रो छ भन्यो । विद्यार्थीहरूले स्वदेशी पर्यटनलाई महत्व दिनुपर्ने कुरा बुझे ।

उत्तर:- विद्यार्थी लुम्बिनी घुम्न गएको थियो । त्यहाँ विदेशी पर्यटकहरू पनि आएका रहेछन् । उनीहरूले लुम्बिनी त एकदमै राम्रो छ भने । विद्यार्थीले स्वदेशी पर्यटनलाई महत्व दिनुपर्ने कुरा बुझ्यो ।

 

८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।              (४)

(क) तलका गद्यांशबाट दुईओटा उद्देश्य र विधेय तथा दुईओटा उद्देश्य विस्तार र विधेय विस्तार पद पहिचान गरी लेख्नुहोस्ः

प्रतिभाशाली रमा नियमित विद्यालय जान्छे । पढाइका साथै खेलकुदमा पनि रूचि राख्छे । हिजो गुरूले पुरस्कार पनि दिनुभयो । साथीहरूले पनि उसको तारिफ गरे ।

उत्तर:-

उद्देश्य             -    रमा, गुरु

उद्देश्य विस्तार              प्रतिभाशाली, हिजो

विधेय                जान्छे, दिनुभयो

विधेय विस्तार      -    नियमित विद्यालय, पुरस्कार पनि

 

अथवा,

दिइएको अनुच्छेदलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्:

मेरो आमा पहाडमा बस्छिन् । ऊ असल हुनुहुन्छ । त्यहाँबाट अग्लो हिमालहरु हेर्न पाइन्छ । तिमी पनि हिमाल हेर्न आएको छ ।

उत्तर:- मेरी आमा पहाडमा बस्नुहुन्छ । उहाँ असल हुनुहुन्छ । त्यहाँबाट अग्ला हिमालहरू हेर्न पाइन्छ । तिमी पनि हिमाल हेर्न आएका छौ ।


(ख) दिइएको वाक्यलाई करण भए अकरण र अकरण भए करणमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्ः

तिमी नआउने भए म पनि आउँदिनँ । यहाँ कोही पनि आउन सक्दैन । तिमी त यहाँ आउन चाहन्छौ । विदेशको दुःख तिमीलाई थाहा छ ।

उत्तर:- तिमी आउने भए म पनि आउँछु । यहाँ जो पनि आउन सक्छ । तिमी त यहाँ आउन चाहँदैनौ । विदेशको दुःख तिमीलाई थाहा छैन ।

 

अथवा,

तलका वाक्यलाई अप्रत्यक्ष कथनमा परिवर्तन गर्नुहोस् :

छोराले भन्यो, “आमा, बहिनी कति वर्षकी भई ?"

आमा, “तीन वर्षकी भई ।"

छोरा, “अब उसलाई कहिले विद्यालय पठाउने ?"

आमा, “तिमीले वेलैमा सम्झायौ, यसै वर्षदेखि पठाउने ।"

उत्तर:-

छोराले आमालाई बहिनी कति वर्षकी भई भनी प्रश्न गर्‍यो  

आमाले तीन वर्षकी भई भन्ने जबाफ दिइन् ।

छोराले अब उसलाई कहिले विद्यालय पठाउने भनी प्रश्न गर्‍यो ।

आमाले उसले वेलैमा सम्झाएकाले यसै वर्षदेखि पठाउने कुरा गरिन् ।


९. दुबै प्रश्नको उत्तर दिनुहोस ।               (४+४=८)

क) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस ।

साँच्चि नै विदेशमा नेपालीलाई परेको समस्या सुनाउने स्थान र समाधानका लागि सल्लाह लिन सक्ने एउटै मात्र थलो दूतावास नै हुन्छ । मानौँ उनीहरू सानातिनादेखि ठुला र गम्भीर समस्याहरु दूतावासमा सुनाएपछि सहज रुपमा सुल्झिन्छ भन्ने मनोविज्ञान लिएर आउँछन् । दूतावास नै आफ्नो आमाको दोस्रो रुप जस्तै ठान्छन् । विदेशमा पुगेकाले जसरी हरदुःखमा आमा भनेर पुकारिन्छ र सम्झिने गरिन्छ । हुन त यो मेरो अभिब्यक्ति हो । त्यसैले म जस्तै अरुले सम्झिन्छन् कि सम्झिदैनन् दुःखमा आफ्नी आमालाई तर म भने आपत्विपत् र दुःखमा जहिले पनि सम्झिन्छु आफ्नी आमालाई । त्यस्तै प्रकारले विदेशमा भएका नेपालीको आमाको रुपमा रहेको हुन्छ नेपाली दूतावास । दूतावासको उपस्थिति नभएका देशमा आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने स्थान कहीँकतै हुँदैन । कम्तीमा आफ्नै देशका दाजुभाइलाई आफ्नै भाषामा आफ्ना समस्या सुनाउँदा मात्र पनि हलुका अनुभव हुन्छ । यिनै मानवीय कोणबाट सोचेर चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने र बुझाउने काम गर्नेतर्फ लाग्नुप-यो कतारमा । यसरी कहिल्यै नभोगिएका, कहिल्यै नसुनिएका र कहिल्यै नसोचिएका विचित्र किसिमका कामबारे सल्लाह तथा सुझाव दिन बाध्य हुनुपर्‍यो कतारमा ।


प्रश्नहरु:

(क) दूतावासले के काम गर्छ ?

उत्तर:- दुतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्छ ।

(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?

उत्तर:- जसरी एउटी आमाले आफ्ना सन्ततिलाई आइपरेका हरेक आपत्विपत् तथा दुःख निवारणका लागि अहोरात्र खट्छिन् त्यसैगरी दुतावासले पनि विदेशमा रहेका आफ्नो देशका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्ने भएकाले दूतावासलाई आमासँग तुलना गरिएको हो ।

(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?

उत्तर:- दूतावासको उपस्थिति नभएका देशमा त्यहाँ गएका नागरिकहरूले आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने ठाउँ कहीँकतै नपाउने जस्ता समस्या हुन्छन् ।

(घ) लेखकले कतारमा कसरी काम गर्नुपर्यो ?

उत्तर:- लेखकले कतारमा मानवीय कोणबाट सोचेर चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने र बुझाउने काम गर्नुपर्यो ।

 

(ख) दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

जनसङ्ख्याको वृद्धिलाई खेतीयोग्य जमिनको क्षेत्रफलसित तुलना गरेर हेरेको खण्डमा मात्र जनसङ्ख्या वृद्धिले उत्पन्न गर्ने समस्याको गम्भीरताको बोध हुन्छ । नेपाल संसारमा बढी जनघनत्व भएका देशहरुमध्ये पर्दछ । यहाँ एक वर्ग किलोमिटर कृषियोग्य जमिनमा ७३९ जना मानिस बसोबास गर्छन् ।

नेपालको कुन जनसङ्ख्याको ४५.५ प्रतिशत मानिस बसोबास गर्ने पहाडी भेगमा प्रतिवर्ग किलोमिटर जनघनत्व अझ बढी अर्थात् ८४० छ । तराईमा भने ७०४ र हिमाली भेगमा ५२४ छ । कम्तीमा पनि ८१ प्रतिशत मानिसहरु कृषिमा संलग्न रहेको आजको अवस्थामा प्रतिव्यक्ति खेतीयोग्य जमिन घट्न जानाले गरिबी नाटकीय तबरले बढ्न जान्छ । यदि बढ्दो जनसङ्ख्यालाई रोजगारी दिने खालका उद्योग र बन्दव्यापार नेपालमा विकसित भएको भए जनसङ्ख्या वृद्धि त्यति ठुलो समस्या हुँदैनथ्यो तर दुर्भाग्यबस त्यस्तो अवस्था नेपालमा छैन ।

अब प्रश्न उठ्छ, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले निर्धारण गरे बमोजिम एक जना व्यक्तिलाई एक वर्षमा चाहिने १८० केजी अन्न उत्पादन गर्ने जमिन नेपालमा छ त ? नेपालमा एउटा परिवारमा सालाखाला ६ जना हुन्छन् । त्यसको अर्थ हो, एउटा परिवारलाई एक वर्षमा १०८० केजी अन्न चाहिन्छ । जिरी र अरू ठाउँको अनुभवका आधारमा बिउँका लागि १० प्रतिशत छुट्याउनु पयो, जाँडरक्सी बनाउन १६५ केजी लाग्छ र बाली पाकेपछि २५ प्रतिशत खेर जान्छ । ती सबै हिसाब गर्दा ४१५ केजी हुन आउँछ । यसरी हरेक परिवारका लागि बर्सेनि १९१५ केजी अन्न उत्पादन गर्नुपर्छ । नेपालको प्रतिहेक्टर सालाखाला उत्पादकत्व धान २१०० केजी, मकै १५०० केजी, गहूं १३०० केजी र कोदो १००० केजी छ । यस हिसाबमा धान उत्पादन गर्ने एक परिवारलाई एक । तर मकै, गहुँ, जौ उत्पादन गर्ने मानिसका लागि एक हेक्टरको उत्पादनले खान पुग्छ हेक्टरभन्दा बढी जमिन चाहिन्छ । वास्तविकता चाहिँ के छ भने ४७ प्रतिशत जति नेपालीहरुसँग आधा हेक्टरभन्दा कम मात्र जमिन छ ।

काठमाडौँ उपत्यका जस्ता केही ठाउँलाई छाडेर नेपालमा प्रतिहेक्टर उत्पादन बढाउने काम दुष्कर छ । थोरै उत्पादन बढाउन पनि अत्यन्त धेरै मेहनत गर्नुपर्छ । तसर्थ उत्पादन बढाउने एक मात्र उपाय धेरै बाली लगाउनु हो । तर नेपालमा प्रतिवर्ष सालाखाला १.७५ बाली मात्र हुन्छ । सिँचाइ सुविधा नभएकाले हिमाली भेगमा किसानहरु वर्षमा एकभन्दा बढी बाली लगाउन सक्दैनन् ।


प्रश्नहरु:

अ) नेपालमा गरिबी बढ्ने कारण के हो ?

क) बढी जनघनत्व

ख) कृषि पेसामा आश्रित जनसङ्ख्या धेरै

ग) कृषिमा आश्रित जनसङ्ख्या अनुसार खेतीयोग्य जमिनको कमी

(घ) बेरोजगारी

 

आ) एक व्यक्तिलाई एक वर्षमा कति अन्न चाहिन्छ ?

क) १८० केजी

ग) १९१५ केजी

ख) १०८० केजी

घ) २१९.१६ केजी


इ) नेपालमा अन्नबालीको उत्पादन बढाउन नसकिने मुख्य कारण के हो ?

क) रुखो जमिन

ख) सिँचाइको अभाव

ग) परम्परागत खेतीपाती

घ) कृषकहरुले कम परिश्रम गर्नु


ई) वर्तमान परिस्थितिमा नेपालमा खाद्यान्नको कमी हुने मुख्य कारण के हो ?

क) कृषिमा आधारित जनसङ्ख्या बढी हुनु

ख) खेतीयोग्य जमिन कम हुनु

ग) खेतीयोग्य जमिनको उत्पादकत्व कम हुनु

) करिब पचास प्रतिशत जनतासँग आधा हेक्टरभन्दा कम जमिन हुनु

 

१०. अनुच्छेदबाट चार वटा बँदा टिपी एक तृतीयांशमा संक्षेपीकरण गर्नुहोस्: (२+२=४)

सुरु सुरुमा इतिहास पनि साहित्यकै एक अङ्गका रूपमा मानिएको थियो । मानिसहरुलाई आनन्द दिलाउने तथा मनोरञ्जन गर्ने साधनका रूपमा यसको प्रयोग गरिन्थ्यो । इतिहासका सत्य घटनालाई बढीभन्दा बढी रोचक बनाउन अनेक काल्पनिक कुरा समावेश गरिन्थ्यो । यसले गर्दा इतिहासको वास्तविकता के हो ? पहिल्याउन समेत गाह्रो पर्थ्यो । इसापूर्व पाँचौ शताब्दीतिरका केही चिन्तकहरु इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए । ग्रिक विद्वान् हेरोडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ । उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । हेरोडोटसपछि थुप्रै विद्वान्हरुले इतिहासलाई कथा र दन्त्यकथाभन्दा अलग ढङ्गले लेख्ने प्रयत्न गरे । हेरोडोटसकै अनुयायी थ्युसिडाइसले पेलोपोनेसियन युद्धको इतिहास आफ्नै व्यक्तिगत अवलोकन प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेका थिए । अरिस्टोटल इतिहासलाई दार्शनिक चिन्तनका रूपमा लिएका थिए । मध्यकालमा आएर युरोपमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटी विकास भयो । सोह्रौंसत्रौं शताब्दीमा युरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनलाई तथ्यपूर्ण बनाउन थाल्यो । आधुनिक युगमा इतिहास लेखनको वैज्ञानिक पद्धतिको विकास भयो । यस युगमा प्राचीन इतिहासको खोजीको प्रक्रिया पनि तीव्र भयो र इतिहास एउटा छुट्टै विधाका रूपमा स्थापित भयो ।

उत्तर:- मुख्य चार बुँदाहरु

  1. Ø सुरु सुरुमा साहित्यकै एक अङ्ग मानेर इतिहासलाई पनि प्रयोग गर्नु,
  2. Ø इतिहासलाई छुट्टै र तथ्यपूर्ण बनाउने केही प्रयत्न प्राचीन कालमै हुनु,
  3. Ø मध्यकालमा इतिहासलाई धर्मसँग गाँसेर अध्ययन गरिने परिपाटीको विकास हुनु,
  4. Ø पुर्नजागरण कालमा परिवर्तन आएको इतिहास लेखनमा आधुनिककालमा वैज्ञानिक पद्धतिको विकास हुनु ।

 

संक्षेपीकरण

इतिहासको अध्ययन

इतिहासलाई छुट्टै र तथ्यपूर्ण बनाउने केही प्रयत्नहरु भए पनि प्राचीन कालमा यसलाई साहित्यकै एउटा अङ्ग मानेर प्रयोग गरिन्थ्यो । मध्यकालमा आएर इतिहासलाई धर्मसँग गाँसेर अध्ययन र परिभाषित गर्ने परिपाटीको विकास भयो । पुनर्जागरण कालले इतिहास लेखनमा ठुलै परिवर्तन ल्याएको देखिन्छ भने आधुनिक कालमा आइपुग्दा इतिहास लेखनमा वैज्ञानिक पद्धतिको विकास भएको पाइन्छ ।

मूल अनुच्छेदको शब्द सङ्ख्या = १६६

संक्षेपीकृत रूपको शब्द सङ्ख्या = ५४

 

 

११. कुनै एक प्रश्नको उत्तर दिनुहोस ।              (४)

) आफू पढिरहेको शैक्षिक संस्थाको प्रमुखलाई छात्रवृत्तिका लागि लेखिने निवेदनको ढाँचा तयार गर्नुहोस् ।

उत्तर:-

मिति : २०७६/०४/०८

 

श्री प्राचार्यज्यू,

नेसनल स्कुल अफ साइन्सेज

लैनचौर, काठमाडौँ ।

विषय : छात्रवृत्ति पाऊँ भन्नेबारे ।

महोदय,

उपर्युक्त सम्बन्धमा मिति २०७७/०५/१५ गते यस विद्यालयको वेभसाइटमा प्रकाशित सूचना अनुसार आफू छात्रवृत्तिका लागि योग्य रहेको जानकारी गराउँदै यो निवेदन पेस गरेको छु । म यस कलेजमा अध्ययनरत नियमित एवम् अनुशासित छात्र हुँ। मेरो पढाइ अहिलेसम्म राम्रै चलिरहेको छ तर घरको आर्थिक अवस्था कमजोर भएका कारण मेरो लक्ष्य अधुरै रहने हो कि भन्ने डरले मलाई सताउन थालेको छ । विद्यालयद्वारा प्रदान गरिने उक्त छात्रवृत्ति मैले पाएमा यस संस्थाको गरिमा बढ्ने गरी मिहिनेत गर्ने विश्वास दिलाउन चाहन्छु । आवश्यक कागजात यसै निवेदनका साथ संलग्न गरेको छु । मलाई छात्रवृत्ति दिलाइ दिनुहुन विनम्र अनुरोध गर्दछु । धन्यवाद !

तपाईंको आज्ञाकारी छात्र

भवदेव अवस्थी

कक्षा ११

रोल नं. : ८७


१२. नेपालमा धार्मिक सहिष्णुता' शीर्षकमा १० शब्दसम्मको एउटा वक्तृता तयार पार्नुहोस् ।

उत्तर:-

श्रद्धेय सभाध्यक्ष, निर्णायक मण्डल, मञ्चासीन अतिथिगण,

श्रद्धेय गुरुवर्ग, प्रतियोगी एवम् उपस्थित साथीहरु !

नेपालमा धार्मिक सहिष्णुता' विषयक यस वक्तृत्वकला प्रतियोगितामा म रमण अधिकारी आफ्ना भनाइहरु राख्न गइरहेको छु ।

श्रद्धेय सभापती महोदय !

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक मुलुक हो । यहाँ प्राचीन कालदेखि नै एकले अर्कोको भाषा संस्कृति, धर्म र परम्परालाई मान्दै र स्वीकार्दै आएको पाइन्छ । एकले अर्कालाई सम्मान गरेको पाइन्छ । अनेकतामा एकता, विविधतामा एकता नै नेपाल र नेपालीको पहिचान र परम्परा हो । संस्कृति हो । नेपालीले कहिल्यै न कसैलाई हेप्न जान्यो न कुनै धर्म र संस्कृतिलाई तिरस्कार गर्यो । न कसैसँग निहँ नै खोज्यो । हर्दम सबैसँग मेलमिलाप र भाइचाराको सम्बन्ध कायम गयो । पूर्वीय आध्यात्मिक चिन्तन र हिन्दु आर्य दर्शनमा विकसित हाम्रो सनातन समाज धर्म, संस्कृति, संस्कार र परम्पराले विश्वका सम्पूर्ण जात, जाति, भाषा, भाषी, धर्म संस्कार र संस्कृतिप्रति हार्दिक सहानुभूति र सद्भाव प्रकट गर्दछ । सिङ्गो विश्वलाई नै बन्धुबान्धवको भावनाले हेर्दछ ।

निष्पक्ष निर्णायक मण्डल !

विश्वको इतिहास हेर्ने हो भने धर्मको नाउँमा ठुला ठुला युद्धहरु भएका छन् । हजारौं मानिसको ज्यान गएको छ। रगतको खोलो बगेको छ । अर्को धर्मप्रति हेयभाव राखेका छन् । वितृष्णा फैलाएका छन् । आआफ्ना धर्म र संस्कृतिको मात्रै माहत्म्य गाएका छन् । हामी नेपाल/नेपालीहरु यसको अपवाद भएका छौं । यहाँ बौद्ध विहार र हिन्दुका मठ मन्दिरहरु सँगै बनेका छन् । मस्जिद र मन्दिरहरु एकसाथ रहेका छन् । चर्च र देवलहरु सँगै रहेका छन् ।

(जनाउ घण्टी बज्छ)

धर्मको नाउँमा यहाँ कहिल्यै मनमुटाब भएको छैन । एक थोपा रगत बगेको छैन । हत्याहिंसा भएको छैन । यहाँ दसैं, तिहार, छठ, इद, क्रिसमस, ल्होसार, बुद्ध जयन्ती सबै चाडपर्वलाई आपसमा मिलेर उतिकै रमाइलोका साथ मनाइन्छ । त्यसैले यहाँका पशुपतीनाथ, कृष्ण मन्दिर, गणेश, सरस्वती कालिका स्थान आदि देव देवालयमा सबै धर्मावलम्बीलाई दर्शन गर्ने छुट छ । यसबाट नै प्रमाणित हुन्छ कि नेपाल धार्मिक सहिष्णुताको नमुना देश हो । धार्मिक सहिष्णुता हाम्रो देश नेपालको पहिचान बनेको छ ।


१३. काठमाडौँको ट्राफिक जामलाई कसरी कम गर्न सकिएला ? १२ शब्दसम्ममा आफ्नो प्रतिक्रिया लेख्नुहोस् ।               (४)

उत्तर :- काठमाडौँ उपत्यकाको ट्राफिक जाम उपत्यकामा बसोबास गर्ने प्रत्येक मान्छेको थाप्लोमा जबरजस्ती थोपरिएको श्राप जस्तै बनेको छ । यसलाई विगत लामो समयदेखि भोग्न सबै अभिशप्त छन् । सत्तामा बसेकाले थोरै मात्र सोच्ने हो भने पनि उपत्यकाको ट्राफिक जामलाई धेरै हदसम्म समाधान गर्न सम्भव छ । ट्राफिक व्यवस्थापनका सामान्य उपाय मात्रै अपनाउने हो भने पनि यो समस्या समाधान गर्न निक्कै सहज हुन्छ । ती उपायमध्ये सबैभन्दा प्रभावकारी र तुरुन्तै गरिहाल्नु पर्ने कार्य भनेको ट्राफिक बत्तीको व्यवस्थापन हो । यसले ट्राफिक जामको समस्यालाई केही हदसम्म हल गर्न सक्छ ।

ट्राफिक लाइट राख्नमा सरकार किन मौन छ ? राखिसकेको ठाउँका बत्तीहरु बिग्रेपछि किन मर्मत हुँदैनन् ? यी प्रश्नको उत्तरमा काठमाडौँ उपत्यकाको ट्राफिक जामको समस्या समाधान भेटिन्छ । सर्वसाधारणहरु घन्टौं लाइनमा बस्ने तर भीआईपी सरर अगाडि जाने भएपछि अन्य सवारी चालकलाई कति रिस उठ्ला ? ट्राफिक प्रहरीले भीआईपीलाई रोक्यो भने जागिर जाला भन्ने डर । जागिर नि बचाउनै पर्यो । त्यसैले ट्राफिक प्रहरी पनि सुरक्षित छैनन् ।

यदि सरकारले सधैँ बेवास्ता गरेको खण्डमा धर्मकर्मका लागि यज्ञ गरेजस्तै ट्राफिक लाइट राख्नैका लागि पनि चन्दा उठाउन सकिन्छ । तर अब सरकारलाई झक्झकाउनुको विकल्प भने छैन । कानुनी राज्य र जनताको चेतनास्तरका बारेमा उनीहरुले पालना गरेको नियम, सवारी चालकले पालना गरेको नियम र ट्राफिक व्यवस्थापनले देखाउने व्यवहारबाट थाहा हुन्छ ।  ट्राफिक ठुलो गल्ती गर्ने सवारी चालकलाई समेत चालक अनुमतिपत्र खारेज गर्ने अधिकार ट्राफिक प्रहरीलाई नदिएको गुनासो ट्राफिक प्रहरीको रहेको छ । काठमाडौंको ट्राफिक जामलाई कम गर्न सडक विस्तार, चोक चोकमा अन्डर पास र फ्लाइओभर बनाउने एवम् अन्य वैकल्पिक उपायहरु पनि अपनाउन सकिन्छ ।

 

१४) कुनै दुई प्रश्नको उत्तर लेख्नुहोस ।                (४+४=८)

(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस ।

खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ । यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला । यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरहरुमा बितेको थियो । कहिले ओराहा खाने निहुँमा त कहिले गाईभैंसी चराउने निहुँमा । खोलामा बाढी आएको बेला हामी गाईको पुच्छर समाएर बाढी तर्ने गथ्यौँ अथवा यस्तो बेलामा हामी खोलाको किनारमा बसेर बाढीको आनन्द लुट्थ्यौँ । तर्न डराउने कोही मानिस आए भने हामी तीनचार जना एकअर्काको हात समाउँदै बाढीमा हेलिन्थ्यौं र किनारमा पर्खिरहेको मानिसलाई तारिदिन्थ्यौ र यस्तो काममा खास गरी परिछनकै विशेष रुचि थियो ।यहींनिर कुवा छ, गए सालको वर्षामा मूल फुटेको एकदम चिसो र मिठो पानी छ ।ऊ पानी लिएर आइसकेको छ ।

 

प्रश्नहरु:

(अ)  खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा कसरी अन्याय हुन्छ ?

उत्तर:-गाउँको माया" आफ्नो जन्मभूमि र बाल्यकालको सम्झना गर्दै लेखिएको सामाजिक कथा हो । यसका रचनाकार इस्माली हुन् । इस्माली तराई मधेशको जनजीवन सजीव ढङ्गले चित्रण गर्ने सामाजिक कथाकार हुन् । आफ्नो सालनाल गाडिएको र बाल्यकाल बितेको गाउँको सुमधुर सम्झना यस कथामा गरिएको छ । कथामा आफूले बाल्यकालमा देखेका र भोगेका अनेक घटना र प्रसङ्गहरुको मार्मिक वर्णन पाइन्छ । कथा अनुसार गाउँमा एउटा खोलो छ । कहिलेकाहीँ खोलामा बाढी आउँछ र बगाउँछ तर खोलाले गाउँलेहरुलाई अनेक तरहले पालेको पनि छ । त्यसैले खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा अन्याय हुन जान्छ ।

 

(आ)  '' पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?

उत्तर:- बाल्यकालको सम्झनालाई समेटेर लेखिएको कथा हो । कथाको '' पात्रको बाल्यकाल बितेको उत्तर : 'गाउँको माया' गाउँमा बाल्यकाल बिताएको व्यक्ति शहरबाट गाउँ फर्किदा उसले गरेको गाउँमा एउटा खोलो छ । उसको बाल्यकालको अधिकांश समय त्यही खोलामा बितेको छ । खोलामा खेल्दै बाल्यकाल बिताएका '' पात्रका खोलासँगका बालअनुभूतिहरु निकै रोचक र अविष्मरणीय छन् । बाल्यकाल पुरै त्यही खोलामा खेल्दै बितेको सम्झना '' पात्रले गरेका छन् । खोलामा पौडी खेलेको, बगरमा भाँडाकुटी खेलेको, गाईभैंसीको पुच्छर समातेर खोला वारपार गरेको र बाढी आउँदा आनन्द मानेर किनारमा बसी बाढी हेरेको जस्ता खोलासँगका बालअनुभूतिहरु कथामा व्यक्त भएका छन् ।

 

(ख) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् :

कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र

वीर पुखा ! कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र

गरुडको झैं वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो

पौरखले रच्यौ नेपाल ! पहाड तराई जुट्न सक्यो ।


प्रश्नहरु:

(अ)  नेपालीहरुको कस्तो पौरखले नेपालको रचना भएको हो ?

उत्तर:- वीर पुर्खादेशभक्तिको भावनाले भरिएको कविता हो । यो भ्याउरे लयमा लेखिएको छ । यसका रचनाकार वासुदेव त्रिपाठी हुन् । यस कवितामा कविले हाम्रा वीर पुर्खाहरुको गौरवपूर्ण इतिहासको भावपूर्ण वर्णन गरेका छन् । नेपाली वीर पुर्खाहरुले अनेक विघ्नबाधा र कठिनाइहरु बेहोरेर आफ्नै पौरखले नेपाल राज्यको रचना गरेको कुरा कवितामा सगौरव वर्णन गरिएको छ । व्यक्तिगत लोभलालचबाट माथि उठ्दै आफ्नो प्राणको बाजी लगाएर हाम्रा वीर पुर्खाहरुले नेपाल राज्यको रचना गरेको कुरा कविले व्यक्त गरेका छन् ।

 

(आ)   कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरवगथाको वर्णन गर्नुहोस् ।

उत्तर:- प्रस्तुत कवितामा नेपाली गौरवपूर्ण इतिहासको गाथा गाइएको छ । कविता अनुसार हाम्रा पुर्खाहरुले रचना गरेको इतिहास निकै गौरवपूर्ण छ । संसारको कुनै पनि शक्तिसँग नझुकेर बरु बलिदान दिन तयार भएर हाम्रा पुर्खाहरु आफ्नो मातृभूमीको अस्मिताको रक्षा गर्न सफल भएका छन् । हामीलाई गौरवको महसुस हुन्छ र छाती फुलेर आउँछ । गरुडको झैं वेगमा अगाडि बढेका हाम्रा पुर्खाहरुलाई इतिहासमा कसैले पनि रोक्न र छेक्न सकेको देखिँदैन । मातृभूमिप्रतिको अगाध स्नेहले प्रेरित भएर जस्तोसुकै बलिदान दिन पनि तयार हाम्रा वीरपुर्खाहरुको गौरवगाथाको वर्णन यस कवितांशमा गरिएको छ ।

 

 

 

१५) कुनै एक प्रश्नको उत्तर लेख्नुहोस ।                      (८)

क) 'गाउँको माया' कथामा कस्तो समाजको चित्रण गरिएको छ ? समीक्षात्मक उत्तर लेख्नुहोस् ।

उत्तर:- गाउँको मायासुप्रसिद्ध कथाकार इस्मालीद्वारा लेखिएको कथा हो । तराई मधेसको जनजीवनको सजीव चित्र उतार्ने इस्माली सामाजिक कथाकार हुन् । उनका कथामा मधेसतिरको समाजको यर्थाथ चित्रणका साथै आलोचनात्मक दृष्टिकोण रहेको हुन्छ ।गाउँको मायाएक सामाजिक कथा हो । यसमा पढाइको सिलसिलामा सहर पसेको प्रमुख पात्र दुई वर्षपछि गाउँ फर्किंदा गरेका अनुभूतिहरुको मार्मिक चित्रण गरिएको छ ।

यो कथा मधेशको गाउँको कथा हो । एउटा परम्परागत रीतिरिवाज र मूल्य मान्यतामा चलेको गाउँ छ । गाउँका अधिकांश मानिसहरु अशिक्षित छन् । गाउँमा केही मानिसले मात्र प्राथमिक शिक्षा हासिल गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि सहर जानु पर्ने अवस्था छ। विभिन्न समुदायका मानिसहरु मिलेर बसेको गाउँको वातावरण प्राकृतिक छ । खेतीपाती र मेलापात गर्ने, गोठालो जाने, खेतमा काम गर्ने र खोलामा पौडी खेल्न जाने प्रसङ्गबाट यो कुरा प्रस्ट हुन्छ । कृषि पेसामा आधारित समाजको वर्णन कथामा मुख्य छ । गाउँका अधिकांश मानिसहरुले कृषिमा आधारित जीवनयापन गरेको देखिन्छ । परम्परागत प्रणालीमा आधारित खेतीपाती छ । विद्यालय, स्वास्थ्य चौकी, बाटोघाटो, पुलपुलेसा गाउँमा बनेका छैनन् । विकासको उज्यालो घामबाट गाउँ वञ्चित छ । गरिबी र अशिक्षाको अँध्यारोमा गाउँ रुमल्लिएको छ । गाउँमा परम्परागत मेला, जात्रा, प्रहसन र नाटक भने बेला बेला भइरहन्छन् । किसन भाइ दुई वर्ष सहर बसेर फर्किदाँ गाउँमा केही परिवर्तन हुन थालेको महसुस गर्छ । गाउँमा पार्टी राजनीतिले प्रवेश गरेको छ । गाउँमा मानिसहरु दलगत स्वार्थमा विभाजित हुन थालेको देखिन्छ । नेतृत्वमा पुग्ने मान्छेहरुबाट पटक पटक धोका हुने गरेको र सङ्कीर्ण स्वार्थमा अगुवाहरु बिक्न थालेबाट गरिब, किसान, मजदुरका समस्या ज्युँकात्युँ रहेको सामाजिक परिवेशको मार्मिक चित्रणगाउँको मायाकथामा गरिएको छ ।

 

१६. तलका मध्ये कुनै एक शीर्षकमा २५० शब्द नघटाई वस्तुपरक निबन्ध लेख्नुहोस् :                                     (८)

क) मेरो भविष्यको योजना

ख) म प्रधानमन्त्री भएँ भने

ग) मलाई मन पर्ने ठाउँ

मेरो भविष्यको योजना

सबै मानिसका आआफ्ना योजना हुन्छन् । योजनाविनाको जीवन असफल र अपूर्ण हुन्छ । त्यस कारण कुनै पनि व्यक्ति, समाज वा राष्ट्रले समय अनुसार योजना बनाएका हुन्छन् । योजना भनेको काम गर्ने बाटो वा तरिका हो । कुन बाटो कहिले, कहाँ र कसरी जाने भन्ने कुरा योजनामा स्पष्ट हुन्छ । योजनाबाट नै व्यक्ति, समाज र देश अगाडि बढिरहेका हुन्छन् । योजना पनि विभिन्न विषय, क्षेत्र र प्रकारका हुन्छन् । आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक आदि । त्यसैगरी अल्पकालीन, दीर्घकालीन योजना विभिन्न रूप र प्रकारका हुन्छन् ।

मेरो पनि भविष्यको निश्चित योजना छ । विशेष गरी मेरो देश नेपाल गरिब, अविकसित देश भएकाले यहाँका धेरै जनता गरिबी, बेरोजगारी आदिबाट पीडित छन् । राजनीतिक अस्थिरता र अदूरदर्शी एवम् अलोकप्रिय नेतृत्वले गर्दा राष्ट्र दिनानुदिन अन्धकारमा धकेलिएको छ । विकृति, विसङ्गति, अनियमितता झाङ्गिइरहेका छन् । चाकडी, चाप्लुसी र भ्रष्टाचारले राज्यका हरेक क्षेत्रमा पकड जमाएको छ । राजनीतिक, आर्थिक, शैक्षिक, प्रशासनिक आदि क्षेत्रमा जताततै लथालिङ्ग र भताभुङ्गको स्थिति आएको छ । सानोभन्दा सानो काम गर्न पनि विदेशीहरुको मुख ताक्नु पर्ने लाचारीपन देखिरहेको छ । वर्तमान स्थितिबाट पार पाउनु स्वच्छ, स्वतन्त्र वातावरण युक्त राष्ट्र बनाउनु नै मेरो भविष्यको एक मात्र योजना छ । हुन त भविष्य भनेको अनिश्चित हुन्छ । अज्ञात र अदृश्य हुन्छ । तैपनि मानिस आसैआसामा बाँचेको हुन्छ । आशाले पनि जीवन र भविष्य उज्ज्वल पार्न सकिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाकोउद्देश्य के लिनु उडी छुनु चन्द्र एक' भन्ने उक्तिले जीवनमा योजनाको ठुलो महत्त्व रहेको प्रस्ट पार्छ ।

वर्तमान अवस्थामा हाम्रो देशमा लाखौँ युवा जनशक्ति बेरोजगार भएर बरालिएका छन् । कयौँ त दुर्व्यसनतिर लागेका छन् भने कैयौं युवाहरु विदेशतिरै पलायन भैरहेका छन् । अर्कोतिर नेपाली अबौं रुपियाँ विदेशीको हात परिरहेको छ । यो देश रोग, भोक र शोकले आकान्त छ र अभावैअभावले ग्रस्त छ । देशमा गरिब, अविकास, अशिक्षा र विकृतिले नेटो काटेको छ । यस दुःखदपूर्ण स्थितिबाट देशलाई बचाएर निश्चित योजना र दिशातिर लैजाने योजनामा म दृढ छ । त्यसैले आजैबाट विद्यालय तहबाट नै मैले आफूमा इमान्दारिता र सहयोगी भावनाका साथ समाज र राष्ट्रप्रति निष्ठावान् बन्ने प्रण गरेको छु ।

वर्तमान अवस्थामा नेपाली जनता र राष्ट्रले बेहोर्नु परेको अभाव, दुःख, कष्ट र पीडालाई हृदयङ्गम गरी भविष्यमा आउँदो पिँढी र सन्ततिले यस्तो पीडाबाट छुटकारा दिलाउने कुरामा म सबैलाई विश्वस्त पार्दछु । यसैमा मेरो योजना बन्नेछ । राज्यका हरेक क्षेत्रलाई चुस्त दुरुस्त र पारदर्शी बनाएर लैजान तन, मन र कर्मले एकाग्र हुनेछ । दृढ वचनबद्धताका साथ भविष्यमा सुन्दर विकसित र सम्पन्न राष्ट्र निर्माणमा अल्पकालीन एवम् दीर्घकालीन योजनाका साथ लाग्नेछु । प्राकृतिक र सांस्कृतिक रूपमा सुन्दर यस देशलाई मेरो दूरगामी र सही नीति निर्माणको योजनाले थप सुन्दर बनाउने छ । म यसलाई सम्पन्न राष्ट्र बनाउने छु । त्यसैले यो समाज र राष्ट्रलाई मेरो योजनाको खाँचो छ । म मेरो भविष्य यही योजना कार्यान्वयनमा समर्पण गर्दछु ।

 

सफलताको शुभकामना

Compulsory Nepali (Class 11), New Model Question Solution, 2080 (2023) | NEB Class 11 Nepali Final Exam Question Paper Solution, 2080


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.